काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । राजीनामा दिनका लागि उनले देउवासमक्ष शर्तसमेत रहेका छन् ।
नवनियुक्त मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने शर्तमा मुख्यमन्त्री तामाङ राजीनामा दिन राजी भएका हुन् । गत साउन १४ गते नियुक्त भएका मन्त्रीत्रयको शपथसमेत भएको छैन ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा पराजय भएका तामाङलाई राजीनामा दिन पार्टीभित्र दवाब रहेको छ । यस विषयमा आज (शनिबार) मुख्यमन्त्री तामाङ र सभापति देउवाबीच छलफल भएको थियो । संसदीय दलको नेतामा २२ मत प्राप्त गरि इन्द्र बानियाँ निर्वाचित भए भने लामाले १४ मत प्राप्त गरेका थिए ।
बागमतीमा अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको सरकार रहेको छ । तामाङले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्ने बताइएको छ । बागमती एमाले संसदीय दलले कांग्रेसको आधिकारिक उम्मेदवारलाई समर्थन गरेर सरकार बनाउने निर्णय गरिसहेको छ ।