मकवानपुर । आफ्नै दलबाट सरकारमा सहभागी ५ जना मन्त्रीहरुले राजिनामा दिएपछि नैतिक संकटमा परेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजिनामा दिने भएका छन् । लामाले राजिनामा दिएपछि नेपाली काँग्रेस बागमती, प्रदेश संसदीय दलमा नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
मन्त्रीहरुले पदबाट राजिनामा दिएर संसदीय दलमा अविश्वासको प्रास्तव दर्ता गरेपछि लामा समस्या थिए । अविश्वासको प्रस्ताव पारित भएर संसदीय दलको नेता पद गुमाएका लामाले मुख्यमन्त्रीबाट भने राजिनामा नदिने अडान राखेका थिए । यद्यपि पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको सल्लाह र निर्देशन पछि लामा राजिनामाको लागी तयार भएका हुन् ।
मन्त्रीहरुले राजिनामा दिएपछि लामाले आफ्ना समर्थक ३ जना सांसदलाई मन्त्रीमा नियुक्त गरे तर, ति मन्त्रीहरुले सपथ लिनै पाएनन्। अचानक बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि सपथ ग्रहण कार्यक्रम नै स्थगित गरिएको थियो । उनले नियुक्त गरेका ३ जना मन्त्रीहरुलाई बानियाँ नेतृत्वको सरकारमा पनि सहभागी गराउने सर्तमा लामा आफू बाहिरीन तयार भएका हुन्।
देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलमा लामाले आफूद्वारा नियुक्त धादिङ्का सांसद गोबिन्द लम्साल, चितवनका सांसदहरु गिता गुरुङ र माया लामालाई मन्त्रीमा नियुक्त गर्ने सर्तमा राजीनामा दिन तयार भएका हुन् । अन्यथा उनले आफू संवैधानिक लडाइमा जाने बताउँदै आएका थिए । दलको नेता पदबाट हटेपनि उनलाई मुख्मन्त्री पदबाट हटाउन संविधान नै बाधक थियो । संविधानतः उनी हट्ने आधार नभएपछि उनलाई नैतिक दबाब दिंदै पार्टी राजनीतिको अनुशासनको हवला दिएर निर्देशन दिइएको बुझिएको छ ।
“नैतिकता बाहेक उनलाइ हटाउनु पर्ने कारण थिएन, पार्टीको निर्देशन मान्नुभएको हो” सांसद गोविन्द लम्सालले भने । यसपछि लामाले आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने तयारी गरेका छन् । तर प्रदेश प्रमुख देवकोटा अझै स्वास्थ्य उपचारको क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचाररत छन् ।
मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो ।
देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको लामाको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख देवकोटा अस्पताल डिस्चार्ज नभएको कारण राजिनामा भने आइतबार बुझाउने संभावना कम छ । मूत्र थैलीमा सङ्क्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
मूत्र प्रणालीमा संक्रमण भएपछि प्रदेश प्रमुख देवकोटा बिहीबारदेखि काठमाडौँस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्। देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त भइसकेकोले आइतबार दिउँसोसम्म डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ।
बागमती प्रदेशसभामा कांग्रेसबाट ३७ सांसद छन्। जसमध्ये गत शुक्रबार २१ सांसदले मुख्यमन्त्री रहेका तत्कालीन दलका नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
अब लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार ढल्नेछ । नेकपा एमाले र कांग्रेसको गठबन्धन रहेको बागमती सरकारमा बानियाँ मुख्यमन्त्री नियुक्त भएपछि अन्य मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ ।
८ साउन २०८१ मा लामा मुख्यमन्त्री नियुक्त हुँदा केन्द्रीय सहमतिअनुसार बागमतीमा कांग्रेस र एमालेले २०-२० महिना सरकार चलाउने सहमति थियो । जस अन्तरगत कांग्रेसका तर्फबाट लामा १२ महिना मुख्यमन्त्री नेतृत्व गरिसकेका छन् । सहमतिअनुसार अब कांग्रेसबाटै मुख्यमन्त्री बन्न लागेका बानियाँले ८ महिना मात्र प्रदेश सरकारको नेतृत्व गर्न पाउने छन्। यसपछि मुख्यमन्त्री पद एमालेले पाउनेछ।
बाँनियाँ छैटौ मुख्यमन्त्री
प्रदेश संरचना स्थापनापछि मुख्यमन्त्री हुने बानियाँ छैटांै व्यक्ति हुन् । बागमती प्रदेशको स्थापनापछि हालसम्म ५ जनाले मुख्यमन्त्रीको नेतृत्व गरेका छन् ।
नेकपा एमालेका डोरमणि पौडेल पहिलो मुख्यमन्त्री बनेका थिए । २०७४ माघ २९ गते नियुक्त भएका पौडेलले २०७८ भदौ २ गतेसम्म नेतृत्व गरे । नेकपा एमाले पार्टी फुटेर नेकपा समाजवादी बनेपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यले २०७८ भदौ २ गतेदेखि २०७८ कात्तिक १० गतेसम्म जिम्मेवारी सम्हालिन् ।
त्यसपछि नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे बागमतीका मुख्यमन्त्री बने । २०७८ कात्तिक १० गते पदभार गरेका पाण्डेले २०७९ पुस ८ गतेसम्म जिम्मेवारी सम्हालेका थिए ।
यसैगरी २०७९ पुस २५ गते नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल मुख्यमन्त्री नियुक्त भए । उनले २०८१ साउन ८ गतेसम्म कार्यभार सम्हालेका थिए । प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नेपाली काँगे्रसका बहादुर सिंह लामाले २०८१ साउन ८ गतेबाट जिम्मेवारी सम्हाल्दै आएका छन् ।