‘माइन्युट’मा ४ वर्षदेखि छैन जनार्दनको हस्ताक्षर

‘माइन्युट’मा ४ वर्षदेखि छैन जनार्दनको हस्ताक्षर

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विगत ४ वर्षदेखि पार्टी बैठकको ‘माइन्युट’मा हस्ताक्षर नै नगरेको खुलेको छ । पार्टी नेतृत्व हस्तान्तरणको अडानमा रहेका उनले बैठकमा उपस्थित भएर पनि निर्णयमा भने हस्ताक्षर गरेका छैनन् ।

२०७८ पुसमा भएको पार्टीको आठौं महाधिवेशनबाट शर्मा महासचिवको दाबेदार थिए । तर, उनलाई बन्न नदिई देव गुरुङलाई महासचिव बनाइयो । शर्मालाई उपमहासचिवमा राखेपछि उनी त्यहीबेलादेखि नेतृत्वप्रति असन्तुष्ट रहेको माओवादी नेताहरू बताउँछन् । प्रचण्ड त्यतिबेला महासचिवमा बर्षमान पुनलाई ल्याउन खोजेका थिए । तर, पुन बिरामी भई चीनमा उपचार गराइरहेका थिए । शर्मालाई रोक्न महाधिवेशनबाट महासचिव चयन नगरी महाधिवेशन लम्ब्याउने काम त्यतिबेलै भएको थियो ।

महाधिवेशन हलबाटै महासचिव निर्वाचित हुन खोजेका शर्मा त्यसयता पार्टीको मूल नेतृत्व नै बन्नुपर्ने रणनीतिअनुसार लागेका छन् । पछिल्लो समय मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली धन्दा’मा लागेको भन्दै उनले गम्भीर आरोप अन्य कम्युनिस्ट प्रधानमन्त्रीहरूमाथि लगाए । जुन भिडियो भाइरल भएको थियो । माओवादी केन्द्रको करिब चार दशकदेखि अध्यक्ष रहेका प्रचण्ड प्रधानमन्त्री भए । उनको मन्त्रिपरिषद्मा शर्मा पनि मन्त्री भए । र, उनले यस्तो अभिव्यक्ति दिँदै आफ्नै पार्टी अध्यक्षलाई समेत असुली धन्दामा लागेको गम्भीर आरोप लगाउँदै चुनौती दिए ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले उपमहासचिव शर्माले माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो भएको बताए ।

‘उहाँ माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो हो, यस’boutमा नेतृत्वलाई पनि ठीक लागेको छैन,’ सचिव शर्माले भने, ‘यो पनि अनुशासनकै विषय हो, यो विषयसमेत बैठकमा उठेको छ, अब गर्नुहुन्छ कि हेरौं ।’

एक अर्कालाई आत्मालोचना गर्न दबाब

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बैठकमा गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने आवाज उठेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’सहितका नेताले गल्ती गर्ने नेताले आत्मालोचना गर्न एकअर्कालाई सुझाएका छन् ।

कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकमा ‘आत्मालोचना’को विषय उठेको हो । शुक्रबारदेखि सुरु भएको बैठकमा धारणा राख्ने अन्य नेताले समेत कमी कमजोरी र गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने आवाज उठाएका छन् ।

उपमहासचिव शर्माले पार्टी नै विभाजन गर्ने र नेतृत्वमाथि गम्भीर प्रश्न सार्वजनिक रूपमा उठाएपछि उनलाई अनुशासनको कारबाही र आत्मालोचना गर्नुपर्ने नेताले सुझाव दिएका छन् । नेताहरूबाट यस्तो सुझाव आएपछि शर्माले कमी कमजोरी र गल्ती गर्ने पार्टी नेतृत्व ‘प्रचण्ड’ले आत्मालोचना गरे आफूले पनि आत्मालोचना गर्न तयार रहेको बताएका छन् ।

बैठक सुरु भएकै दिन (शुक्रबार) अध्यक्ष प्रचण्डले एजेन्डा प्रस्तुत गर्दै उपमहासचिव शर्माले आन्तरिक विषय बाहिर लगेकामा आत्मालोचना गर्नुपर्ने सुझाएका थिए । त्यसपछि बोल्ने क्रममा अन्य नेताले प्रचण्डको बचाउ गर्दै शर्मालाई समेत आत्मालोचना गर्न सुझाव दिएका छन् । शर्माले पनि धारणा राख्नेक्रममा जवाफ दिँदै नेतृत्वले आत्मालोचना गरे आफू पनि तयार भएको बताए ।

पार्टी निर्माणका लागि आफूले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्ने हो त्यो भोग्न तयार रहेको बताए । पार्टी निर्माणको कुरा उठाउँदा विभाजनको दुष्प्रचार गर्ने काम भएको समेत उनले बताए । आफूले सार्वजनिक रूपमा यो कुरा उठाउँदा पार्टीकै अरू नेताहरूले भित्रभित्रै पार्टी बन्दै बन्दैन भन्दै हिँडिरहेको समेत बताए ।

‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्रभित्रै यो पार्टी बन्दै–बन्दैन भन्दै हिँडेका छन्, तर पार्टी निर्माणमा मैले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ म तयार छु, पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु, जति धकेल्न खोजे पनि म पार्टीमा अडिइरहन्छु,’ शर्माले भने, ‘३१ लाखबाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु, होइन भने तत्तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ ।’

उनले पार्टीलाई आउने ३१ लाख मत ११ लाखमा आइपुग्नुका पछाडिको कारण र दायित्वको जिम्मा नेतृत्वले लिनुपर्ने र आत्मालोचना पनि गर्नुपर्ने बताए । अभियानमा अध्यक्ष प्रचण्डले गुटका दृष्टिकोणले कार्य विभाजन गरेको, एकताबाट आएका र अन्य सिनियरहरूलाई ह्युमिलेट गरेको, विभेदकारी र पूर्वाग्रही कार्य विभाजन भएको आरोपसमेत लगाए ।

बैठकपश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा अध्यक्ष प्रचण्डले ‘गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने’ बताए । शर्माले प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने बताएपछि प्रचण्डले आफूले आत्मालोचना गर्नु नपर्ने भन्दै यस्तो बताएका हुन् । ‘अहिले छलफल चलिरहेकै छ, जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा हो,’ प्रचण्डले भने ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताए । स्थायी समिति बैठकमा भएको छलफल’bout जानकारी गराउँदै उनले नेतृत्वले आत्मालोचना गर्नु नपर्ने बताएका हुन् ।

‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ, जनार्दनले नेतृत्वका विषयमा बोल्नुभएको छैन, समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ, विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो, नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ तर अहिले प्रचण्डको विकल्प छैन,’ प्रवक्ता सापकोटाले भने ।

उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत ११ लाखमा झर्नुको कारण नेतृत्वको कमजोरीका कारण भएकाले आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् । त्यसको जवाफमा सापकोटाले भने, ‘राजनीतिमा ३१ लाखबाट ११ लाखमा झ¥यो भने ११ लाखबाट ३१ लाखमा पनि पुग्नसक्छ, अध्यक्षले आत्मालोचना गर्न केही काम गर्नुभएको छैन, एकाधले भनेको कुनै अर्थ छैन ।’

उपमहासचिव वर्षमान पुनले बैठकमा शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताए । बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राख्ने क्रममा पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए ।

‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाइका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने, ‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’

बैठकमा बोल्ने अधिकांश नेताले नेतृत्वको प्रशंसा, बचाउ र नेतृत्व फेर्न नहुने पक्षमा धारणा राख्दै नेतृत्वकै वरिपरि परिक्रमा गर्दै छन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले नेतृत्वको प्रशंसा मात्रै गरेनन् अहिले नेतृत्व फेर्ने समय नभएको भन्दै पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

राजधानी दैनिकबाट