दीपक कुमार साह जनमतको साधारण सदस्य नरहनेगरि निष्कासित

दीपक कुमार साह जनमतको साधारण सदस्य नरहनेगरि निष्कासित

काठमाडौं। जनमत पार्टीले उपाध्यक्षबाट निलम्बित भएका दीपक कुमार साहलाई साधारण सदस्यसमेत नरहनेगरि निश्काषन गरेको छ। साह पार्टीबाट गत चैत्रमा नै निलम्बनमा परेका थिए।

अध्यक्ष सिके राउतले नै साहलाई निलम्बनको लागि प्रभावकारी कदम चालेका छन्। पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप लगाउँदै साहलाई जनमतले गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो ।

जनमतले साहसँग स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ नदिएको र पार्टी अनुशासन निरन्तर उल्लघंन गरेको भन्दै बुधबार सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन गरिएको जनाएको छ।

साहले विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप छ ।

‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसके पछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको’, अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान उल्लघंन गरेको देखिएकाले तपाईंलाई जनमत पाटर्थीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौं ।’