काठमाडौं । शीर्ष नेतृत्व र भावी नेतृत्वका दाबेदारबीचको टक्करका कारण अधिकांश राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रक कमजोर बन्दै गएको छ । नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने विषयलाई पार्टी अध्यक्षले नेतृत्वमा हस्तक्षेपका रूपमा बुझेपछि एमालेभित्रको कलह चुलिँदो छ ।
उता, नेकपा माओवादी केन्द्र पनि यस रोगबाट ग्रसित छ । पार्टी उपमहासचिव जनार्दश शर्माले नेतृत्व फेरबदलको बहस मात्र छेडेनन्, मत कम आएको भन्दै नेतृत्वमाथि प्रश्न उठाए ।
यस प्रश्नले नेतृत्वलाई घोचेन मात्र स्थायी समिति बैठकको बहुमत जुटाएर अध्यक्ष प्रचण्डले आत्मालोचनाको दबाबसमेत बढाइरहेका छन् । निकट नेताहरूमार्फत जनार्दनलाई पार्टी छाड्न धम्कीसमेत दिन थालिएको भन्दै जनार्दनले सार्वजनिक फोरममै गुनासोसमेत गरिरहेका छन् ।
एमाले र माओवादीमा मात्र होइन कांग्रेस पनि यस रोगबाट ग्रसित छ । पार्टीभित्र किचलो बढदैजाँदा कतै पार्टी नेतृत्व नै हटाइए भने कतै हटाउने रणनीति बनाउनमा नेतृत्व व्यस्त छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहित प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फसेका छन् ।
देउवालाई टक्कर दिँदै कोइराला
अहिले कांग्रेस, एमालेसहित साना दलहरूको गठबन्धन सरकार छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट कांग्रेस नेता असन्तुष्ट छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सरकारको कामबाट सन्तुष्ट छैनन् । तर, उनी सरकार हेरफेर गर्न चाहेका छैनन् । देउवा ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिन खोजेका छन् ।
कांंग्रेसमा संस्थापनइतरका नेता डा. शेखर कोइराला सरकार नै हेरफेर गर्ने अभियानमा छन् । आलोपालो सहमतिअनुसार ओली प्रधानमन्त्री छन् । उनीपछि देउवा प्रधानमन्त्री हुने प्रतीक्षामा छन् । तर, कोइरालाले आलोपालो सहमतिको मितिअगावै सत्ता गठबन्धन हेरफेर गर्ने कसरतमा छन् ।
अहिले देउवाका लागि कोइराला टाउको दुखाइ भएको छ । कोइरालाले कहिले संसदीय दलको नेता फेर्ने र आफैं बन्ने रणनीतिअनुसार अगाडि बढेका छन् भने १५औं महाधिवेशनबाट पार्टी सभापति बन्ने दौडमा समेत छन् ।
देउवालाई जानकारी नै नदिई कोइराला सघन छलफलमा छन् । उनले कांग्रेसको ८८ सिटमध्ये आफूसँग ४४ सिट रहेको दाबी गर्दै सरकार फेर्नुपर्ने पक्षमा छन् । यसबीचमा कोइराला विपक्षी दलका नेताहरूसँग समेत भेटघाट गरेका छन् । तर, संसदीय दलमा बहुमत पुग्न नसक्दा उनी बहुमत पु¥याउने रणनीतिमा छन् । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा कोइरालाले नेतृत्वमाथि प्रश्नैप्रश्न उठाएका थिए ।
बाहिर भद्र देखिने ओली–भण्डारी टक्कर
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका लागि एमालेकै पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी टाउको दुखाइ भएको छ । पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारी सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेपछि ओलीले पार्टी केन्द्रीय कमिटी बैठकबाटै उनको सक्रिय राजनीतिमा ‘ब्रेक’ लगाइदिएका छन् ।
पार्टीको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा लागेकी भण्डारी एमालेको ११औं महाधिवेशनबाट अध्यक्ष हुने रणनीतिमा रहेकी थिइन् । तर, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरण स्थगित ग¥यो । त्यसपछि पत्रकार सम्मेलन गर्दै भण्डारीले ‘केही मुठीभरका मान्छे’ले हुलहुज्जतका भरमा सदस्यता खान नसक्ने बताउँदै राजनीतिक सक्रियता नरोकिने स्पष्ट गरिन् ।
भण्डारीको सक्रिय राजनीतिलाई एमाले अध्यक्ष ओलीले जसरी पनि रोक्ने निर्देशनसमेत गरेका छन् । ओलीले तेस्रो कार्यकाल एमाले अध्यक्ष बन्नका लागि पार्टी विधानसमेत परिवर्तन गराउन खोज्दा भण्डारी पक्षका नेताहरू असन्तुष्ट भएका छन् ।
७० वर्षे उमेरहद र पालिकादेखि केन्द्रीय कमिटीसम्म पदाधिकारीमा एउटै पदमा दुई कार्यकाल बस्न नपाउने व्यवस्था ओली तेस्रो कार्यकाल अध्यक्ष बन्नकै लागि विधानमै परिवर्तन गर्न खोजिएको छ । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीबाट पारित सो विधान अब आगामी २० देखि २३ भदौमा हुने एमालेको विधान महाधिवेशनबाट पारित भएपछि लागू हुनेछ ।
सरकारको नेतृत्व गरिरहेको एमालेभित्र पार्टी नेतृत्व कब्जा गर्ने होडबाजीले तरंगित छ । २० देखि २३ भदौमा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदै छ । विधान महाधिवेशनले पारित गरेको विधानअनुसार ११औं महाधिवेशनबाट नेतृत्वको चयन हुन्छ ।
मथ्थर नभएको प्रचण्ड–जनार्दन टक्कर
कांग्रेस र एमालेमा नेतृत्वमा पुग्ने होडबाजी जोडतोडले अगाडि बढिरहेकै बेला प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रमा पनि नेतृत्व हत्याउने होडबाजीले पार्टीभित्र किचलो बढ्दै गइरहेको छ ।
पार्टी स्थापनादेखि प्रचण्ड नै पार्टी अध्यक्ष छन् । उपमहासचिव रहेका जनार्दन शर्मा प्रभाकर भने पार्टी नेतृत्व फेर्नुपर्ने रणनीतिमा छन् । उनले कहिले महाधिवेशनबाट त कहिले विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व फेर्नुपर्ने भन्दै आएका छन् । शर्मा आफूनिकटका नेताहरूसँग छलफल गर्दै अगाडि बढ्न खोजेपछि पार्टीभित्रै किनाराकृत भएका छन् ।
हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकमा समेत प्रचण्ड र शर्माबीच विभिन्न मुद्दामा चर्काचर्की भयो । पार्टी अनुशासनविपरीत सार्वजनिक रूपमा नेतृत्वकै विरुद्धमा अभिव्यक्ति दिने शर्मालाई आत्मालोचना गर्न प्रचण्डले भने पनि शर्माले अस्वीकार गरे । शर्माले आत्मालोचना नगर्ने अडान लिए ।
विगत ४ वर्षदेखि माइन्युटमा हस्ताक्षर नगरेका शर्माले भने अब हस्ताक्षर गर्ने भन्दै यो आफ्नो कमजोरी भएको स्वीकार गरे । तर, प्रचण्ड र शर्माका बीचमा सुमधुर सम्बन्ध बन्न सकेन । दसैंपछि बस्ने केन्द्रीय समिति बैठकमा दुई नेताका बीच अझै दूरी बढ्नसक्ने आशंका नेताहरूले गरेका छन् ।
हालै सम्पन्न पार्टीनिकटको युवा, विद्यार्थीको महाधिवेशनमा समेत प्रचण्ड र शर्मा पक्षधरता देखिएको थियो । केन्द्रदेखि पालिकासम्म पार्टी र भ्रातृ संगठनमा समूह निर्माणसँगै किचलो बढ्दै गइरहेको छ ।
राप्रपामा आन्दोलन सेलायो, घरझगडा बढ्यो
राप्रपामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाका बीचमा ‘बाझाबाझ’ चलिरहेको छ । राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजीसहित सुरु भएको राप्रपाको आन्दोलन सुस्ताएको छ । तर, पार्टीभित्रको घरझगडा बढ्दै गइरहेको छ । अध्यक्ष लिङ्देन समूहले महामन्त्री राणा समूहका नेतालाई कारबाहीको डण्डा चलाएपछि विवाद चर्किंदै गएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनले प्रतिशोध साँध्दै आफूनिकट नरहेका नेतालाई कारबाही गर्न थालेपछि महामन्त्री राणाको अगुवाइमा असन्तुष्ट समूहका नेताहरू प्रतिवादमा उत्रिएका छन् । राप्रपा त्यागी राजावादी आन्दोलनको नेतृत्व गरेका पूर्वपञ्चनेता नवराज सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई जिम्मा दिएपछि विवाद चर्केको हो । राप्रपामा आन्दोलनको नेतृत्व पार्टीले लिनुपर्ने लिङ्देन समूहको अडानले केही समय राजावादीको आन्दोलनकै बीचमा विवाद देखिएको थियो ।
राप्रपाले २५ असारमा अनुशासन समिति संयोजकमा उपाध्यक्ष कार्कीलाई मनोनीत गरेपछि पार्टीमा आन्तरिक किचलो सुरु भएको देखिन्छ ।
अध्यक्ष लिङ्देनले प्रवक्ताबाट नेता सगुनसुन्दर लावतीलाई पनि हटाएका थिए । लावतीले पछिल्लोपटक महामन्त्री राणाको साथ दिँदै आएका थिए । सुवेदीले पार्टी निर्णयविरुद्ध २६ असारमा निर्वाचन आयोगमा निवेदन दिँदै आफूलाई विधानविपरीत हटाइएको जनाएका थिए ।
रास्वपा र समाजवादीमा नेतृत्व हत्याउने होडबाजी
संसद्को चौथो ठूलो दल रास्वपा अध्यक्षविहीन छ । पार्टी अध्यक्ष रवि लामिछाने सहकारी काण्डमा जेलमा छन् । डीपी अर्याल कार्यबाहक अध्यक्ष छन् । अर्याल पार्टी अध्यक्ष बन्न खोज्दैगर्दा अर्का उपाध्यक्ष स्वर्णीम वाग्ले पनि पार्टी सभापति बन्ने दौडमा छन् ।
पार्टी सभापति पद हत्याउन रास्वपामा आन्तरिक झगडा छ । एकले अर्कोलाई स्वीकार गर्ने अवस्था छैन । रास्वपा नेता लामिछानेको सांसद पद निलम्बन भएको छ । तर पनि रास्वपाले संसदीय दलको नेता अझै चयन गर्न सकेको छैन ।
एकीकृत समाजवादीमा पनि आन्तरिक घरझगडा बढ्दो छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा मुछिएपछि पार्टी नेतृत्व फेर्नुपर्ने बहसले किचलो बढ्दो छ । नेपालको सांसद पद निलम्बनमा छ । रास्वपाजस्तै एकीकृत समाजवादीले समेत संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनको सांसद पदसमेत निलम्बनमा परेको हो । सांसद पद निलम्बनमा परेसँगै एकीकृत समाजवादीमा पनि पार्टी नेतृत्वको बहस चर्किएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छोडेर जानसम्म भनेका छन् । एमाले विभाजनको औचित्य प्रमाणित गर्न नसकेको खनालले बताएपछि नेपालले यस्तो भनेका थिए । खनालले आफूले पार्टी नछोड्ने तर नेपालले छोड्नुपर्ने बताए । नेपाल र खनालले सार्वजनिक रूपमै यस्तो टिप्पणी गर्न थालेपछि दुईबीचको दूरी बढेको छ ।
नेतृत्वकै विषयमा नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिले एकीकृत समाजवादीमा झनै विवाद चुलिएको थियो ।
जनमत र नाउपामा पनि विवादैविवाद
जनमत पार्टी र नाउपाबीच पार्टी एकताको तयारी थियो । तर, दुवै पार्टीमा आन्तरिक विवादका कारण अन्य दलजस्तै किचलो बढ्दै गइरहेको छ । दुवै दलका नेताले बाह्य कारणले एकता हुन नसकेको दाबी गर्दै आएका छन् ।
जनमतका अध्यक्ष डा. सीके राउतले आर्थिक अपचलनको आरोप लगाउँदै उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरेका छन् । तर, साह र यादवले राउतको आरोप अस्वीकार गरेका छन् । कारबाहीपश्चात साह र यादव जिल्लाजिल्लामा पुग्दा राउत समूहका नेताले कालोमोसो दल्ने कामसमेत गरे ।
यस्तै, राउतले पार्टी उपाध्यक्षमा दाइ डा. जयकान्त राउतलाई मनोनीत गरेपछि उनी परिवारवादमा लागेको आरोपसमेत खेप्नुपरेको छ । जयकान्तले जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत सहाल्दै आएका छन् ।
नाउपामा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष (अहिले हटाइएको) रञ्जिता श्रेष्ठबीचको विवाद चर्किंदै गएको छ । चौधरी र श्रेष्ठ श्रीमान्–श्रीमती भए पनि उनीहरूको घरझगडा पार्टीभित्र पनि छताछुल्ल हुँदैआएको छ । आन्तरिक विवादकै कारण नाउपाले संघदेखि प्रदेशसम्मको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
रेशम चौधरीले श्रीमती रञ्जितालाई अध्यक्षबाट हटाई बुबा लालवीर चौधरीलाई नियुक्त गरेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ । पार्टी केन्द्रीय समिति बैठकबाटै रञ्जितालाई हटाउने निर्णय गर्दै लालवीरलाई अध्यक्ष बनाउने निर्णय भएपछि रेशम र रञ्जिताबीचको घरझगडा भाँगिएको छ ।
राजधानी दैनिकबाट